"पुर्णिमाको जुन जस्तो अनुहार हेर्ने दिन औँसीमा किन ?"

'बुवा' यो शब्द सुन्ने बित्तिकै मनमा अनेकै तरङ्गहरू संचार भईदिन्छन्। यो शब्द जति सहज तरिकाले अक्षर समायोजन भएर बनेको छ नि त्यति नै गाह्रो छ शब्दले त्यो शब्द जत्तिको उपाधी पाऊनको लागी। जसरी आमालाइ पृथ्वीको प्रयाय मानिन्छ, त्यसरी नै बुवालाई आकाशको प्रयाय मानिन्छ। आकाश एउटा विशाल अनि खुल्ला सागर हो जसको अन्त्य नै हुदैँन। हो त्यस्तै हुनुहुन्छ बुवा पनि, एकदमै साहासी, एकदमै निडर। उहाँको मनमा पिडा, दुःख कहाँ गएर लुक्छ नै थाहा हुँदैन। जति पिरमा पनि बुवाको अनुहारमा दुःख झल्किंदैन अनि खुशीमा पनि त्यस्तो स्पष्ट खुशीको भाव झल्किंदैनन्।

पहिला पहिला एउटा कुरा मलाई सँधै अचम्म लाग्थ्यो, "छोराछोरीको भविष्य उज्जवल बनाउन पुर्णिमाको जुनझै चम्किरहने बुवाआमाको मुख हेर्ने दिन चाहिँ औशींको अन्धकारमा किन पर्छ?? जुनजस्ता मेरा भगवानहरूको मुख हेर्ने दिन औशींमा पर्नु  अल्लि भएन नि।" तर आजकल मलाई लाग्छ, अध्यारोमा ति अनुहार बढी चम्किउन र सजिलै देख्न पाईयोस् भनेरै आमाबुवाको मुख हेर्नेदिन औशींमा पारेका होलान्। सायद पुर्णिमाको दिनमा दुई पुर्ण चन्द्र देखाउन नमिल्ने भएरै होला औशींमा परेका यि महान दिनहरू।

बुवाको सँधै एकनास हुने अनुहारको भावभङ्गीले गर्दा म दङ्ग पर्छु, के साँच्चै बुवाहरू कडा मन भएका हुन्छन् र??कहिल्यै मन भारी हुँदैन हाेला ? मन दुख्दैन हाेला ? रुन मन लाग्दैन हाेला ? जिम्मेवारीले पिराेल्दा मन अात्तिएकाे हुँदैन हाेला ?? अामालाई त मन बुझाउन अाफ्ना पीडा भुलाउन जाने माईति थियाे । तर बुबाकाे ? अहँ बुबाकाे कहिं थिएन । सिर्फ अाँफै । तर कहिल्यै अतालिएकाे देखिंन सायद सन्तानकाे निम्ति उ अाँफै  हरेक समस्या सँग जुधिरहने गर्छन् । हामीलाई 'हामी' बनाउनकै लागी उहाँले कहिल्यै म, मेरो, मेरालागी भन्ने शब्द प्रयोग गर्नुभएन। सँधै तिम्रालागी, तिम्रानिम्ती भनेर भन्नुभयो। त्यहि भन्दाभन्दै आफ्नो जीवनको उत्तरार्धतिर आऊनुभयो तर पनि अझै हामीप्रतिको माया सदभाव अनि हामीप्रतिको लगाव घटेको छैन्, अझै पनि घरबाट निस्किने बेलामा साेध्नुहुन्छ "भाडा छ कि नाइ" ?


हाम्रो भविष्यको रेखा कोर्दाकोर्दै बुवाको अनुहारमा छालाले अरू नै रेखा कोर्न थालेको थाहा छ कि नाई??
ती काला दारीकपालमा सेता रङ्ग पोतिएको थाहा छ कि नाई ??
हाम्रो भविष्यलाइ आड, भरोसा दिदाँदिदै उहाँको जिन्दगी वितेको पत्तो पाउनुभाछ कि नाई??
बुवाको दारी कपालले रङ्ग बद्लिएर आए तर हामीप्रतिको उहाँको मायाले कहिल्यै रङ्ग बद्लिएको छैन्। उहाँको उमेरले बुढेसकालमा टेकायो तर हामीप्रतिको माया सँधै तन्नेरी नै रहिरह्याे। उहाँको छाला च्याउरिएर आयाे तर हामी प्रतिको मायाको त्वचा सँधै उहि नै रहिरह्याे। उहाँको शरिर कुप्रिएर आयो तर हामीप्रतिको माया झन् अग्लिएर आउँदैछ।
हरेक बुबाको स्नेह, त्याग, परिश्रम अनि मायाको ॠण तिरेर  कुनै सन्तान मुक्त हुन कहिल्यै सकिंदैन होला तर पनि उहाँलाइ हरेक दिन खुशी बनाउने प्रयत्न गर्नेु नै सन्तानकाे कर्तव्य हुनेछ ।
हाम्रो लागि त्याग, परिश्रम गर्ने बुवालाइ सम्झिनलाई कुनैदिन नै पर्खिनपर्छ भन्ने त छैन्, तर पनि अाज बिशेेष दिन । अाज त सँगै छु तर अरु दिनहरुमा जहाँ जता गएपनि भौतिक दुरीले टाढा भए पनी मनको दुरीले  एकदमै नजिक भएको महसुस गर्नेछु ।
हजुर मुस्काएको बिरलै देखेका छौं, अब त्यो मुस्कान देख्नु छ, तपाँईको हाँसो सुन्न छ हामीलाई र भन्नू छ ," बुवा, यत्रो बर्ष  यो घरको भार हजुरले काधमा थाम्दा हजुरको काध गलिसक्यो होला, अब हाम्रो काधमा जिम्मेवारी दिनुहोस् अनि हजुरले आराम गर्नुहोस्।" 

Comments